२०८२ फाल्गुन २५ , सोमवार

आँखाको ज्योति बढाउन खानुपर्ने प्राकृतिक खानाहरु

fruits-

सुनाखरी न्युज/ काठमाडौं ।
आधुनिक जीवनशैली, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग, प्रदूषण, असन्तुलित आहार, अनि निद्राको कमीले गर्दा आँखाको समस्या दिनप्रतिदिन बढिरहेको छ।दृष्टि धमिलो हुने, आँखामा सुख्खा तथा चसक्क दुख्ने जस्ता लक्षण अब उमेर विशेषको मात्र नभई हरेक पुस्ताको साझा चिन्ता बनेको छ। यस्ता समस्याबाट जोगिनका लागि जनस्तरमा प्राकृतिक उपायहरूप्रति आकर्षण बढ्दो छ। विशेषगरी आँखाको स्वास्थ्यका लागि फलफुलको सेवन अत्यन्तै प्रभावकारी मानिएको छ।

नेत्र विशेषज्ञहरूका अनुसार केही विशेष फलफुलले दृष्टि सुधारमा उल्लेखनीय भूमिका खेल्ने गर्छन्।भिटामिन ए, लुटेइन, जिओक्सान्थिन, भिटामिन सी र ई, जिंक र ओमेगा–३ फ्याटी एसिडजस्ता तत्वहरूले आँखालाई स्वस्थ राख्न मद्दत गर्छन्। यी तत्वले आँखाको रेटिना जोगाउने, कोषहरूको क्षति कम गर्ने, आँखामा आर्द्रता कायम राख्ने, र दृष्टि धमिलो हुने सम्भावनालाई घटाउने गर्छन्।

गाजर –  भिटामिन ए को स्रोत बेटा- क्यारोटिनले दृष्टि स्पष्ट राख्न सहयोग गर्छ।

किवी –  लुटेइन, जिओक्सान्थिन र भिटामिन सी युक्त किवीले आँखाको कोषलाई सुरक्षा दिन्छ।

अंगुर –  विशेषगरी कालो अंगुरमा भएको रेस्भेराट्रोलले आँखाको रक्तसञ्चार सुधार गर्छ।

पपीता –  भिटामिन ए र सी युक्त पपीाले दृष्टि तेजिलो बनाउँछ।

आँप – बेटा क्यारोटिनको स्रोत आँपले आँखाको सुक्खापन कम गर्छ।

सुन्तला र कागती जातका फलहरू- यी फलमा पाइने भिटामिन सीले कोष नष्ट हुनबाट जोगाउँछ।

एभोकाडो-  लुटेइन तथा जिओक्सान्थिनले दृष्टि धमिलो हुन नदिने प्रमाण भेटिएको छ।

नेत्र रोग विशेषज्ञ डा.  सरोज अधिकारी भन्छन्, “दृष्टि सुधारमा फलफुलको योगदान महत्वपूर्ण छ, तर त्यससँगै सन्तुलित आहार, प्रशस्त पानी, र पर्याप्त निद्राको पनि उत्तिकै महत्त्व हुन्छ।” काठमाडौं बानेश्वरका ५२ वर्षीय कृष्णबहादुर खड्का भन्छन्, “कम्प्युटर धेरै चलाउने बानीले आँखामा समस्या भएको थियो। डाक्टरको सल्लाहमा गाजर, किवी र आँप खान थालेँ। केही महिनामै सुधार देखिएको छ।”

फलफुल सेवनको तरिका

हरेक दिन कम्तीमा दुई प्रकारका फलफुल सेवन गर्ने।

खाली पेट फलफुल खाँदा पोषक तत्व राम्रोसँग अवशोषण हुन्छ।

फलफुलमा कृत्रिम चिनी नहालेमा असर अझ प्रभावकारी हुन्छ।