
सुनाखरी न्युज/ काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाजले छोरी पढाऔँः गरिमा बढाऔँ भन्ने आह्वानसहित २०८० जेठमा शुरु गरेको कर्णाली केन्द्रीत तीन वर्षे बालिका छात्रवृत्ति अभियान समापन भएको छ । २०८२ जेठ २३ देखि जेठ २९ सम्म तेस्रो वर्षको छात्रवृत्ति रु. ८ लाख ४० हजार कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतका ९ विद्यालयका ७० जना विपन्न दलित समुदायका बालिकालाई (प्रत्येकलाई रु. १२ हजारका दरले) प्रदान गरिएको हो । यससँगै तीन वर्षमा शान्ति समाजले कर्णालीका दलित समुदायका बालिकाहरुलाई रु. २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको छ । पहिलो वर्ष ८४ जनालाई छात्रवृत्ति प्रदान गरिएकोमा दोस्रो वर्ष ५ जनाले विद्यालय छाडेका कारण ७९ जनालाई र तेस्रो वर्ष थप ९ जनाले विद्यालय छाडेका कारण ७० जनालाई प्रदान गरिएको थियो । यसले कर्णालीमा अहिले पनि विद्यालय छोड्नेहरुको संख्या उल्लेख्य रहेको दर्शाउँछ ।
शान्ति समाजका महासचिव प्रकाश शाही, गण्डकी प्रदेश सचिव तिर्थराज न्यौपाने र सुर्खेत शाखा सभापति दिपक गौतमसहितको टोलीले कालिकोटको शुभकालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको हिमास्थित अन्नपूर्ण मा.वि.का ४ जना, कनका सुन्दरी मा. वि. गोठिज्युला सिंजा जुम्लाका १२ जना, मुगुको महाकाली नमुना मा.वि.का ६ जना, नेपाल राष्ट्रिय मिन मा.वि. भारेकोटका ३ जना, दैलेखको महादेव मा.वि. तल्लो डुंगेश्वरका ५ जनालाई ती जिल्लाहरुमा आयोजित कार्यक्रमहरुमा छात्रवृत्ति रकम प्रदान गर्नुभएको थियो भने सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना बालिकालाई समाजका सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, उपसभापति लक्ष्मीनारायण मिश्र लगायतले प्रदान गर्नुभएको थियो । यसैगरी हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभुत विद्यालयका २ जना र हुम्लाकै श्री हिमज्योति मा.वि सर्केगाडका ३ जनालाई सम्बन्धीत विद्यालयका प्रधानाध्यापक मार्फत छात्रवृत्ति वितरण गरिएको छ ।
तीन वर्षे यो अभियानका लागि समाजका सल्लाहकार रामप्रसाद जोशीसहित ७० भन्दा बढी सदस्य तथा शुभचिन्तकहरुले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । यसैगरी मानव अधिकार तथा शान्ति समाजले समुन्नत/समृद्ध कर्णालीका लागि सार्थक योगदान गर्न आग्रह गर्दै विशेष अभियान प्रारम्भ गरेको छ । यस क्रममा २०८२ जेठ २७ गते मुगुको गमगढीमा, जेठ २६ गते जुम्लाको कनकासुन्दरीमा, २५ गते कालिकोटको मान्ममा र सुर्खेतमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको थियो । जेठ २४ गते सुर्खेतको वीरेन्द्रनगरमा शान्ति समाज सुर्खेत शाखाद्वारा आयोजित वृहत नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले जसरी जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरबाट क्षतिपूर्ति माग गरिरहेको छ त्यसैगरी नेपालमा हुने कार्वन उत्सर्जनमध्ये कर्णाली न्युन उत्सर्जन गर्ने क्षेत्र भएकोले कर्णालीले राष्ट्रिय स्तरबाट क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभएको थियो ।
जलवायु न्याय (क्लाइमेट जस्टिस) सर्वत्र प्राथमिकता हुनुपर्ने, विश्वभरी कम आय भएका, जलवायु परिवर्तनबाट प्रभावित समुदाय र मानिसहरुले राहत पाउनुपर्ने तथा यो समस्याका लागि जिम्मेवार नभएका÷कम जिम्मेवार भएका स्थानहरुले न्याय पाउनुपर्ने आवाज विश्वभरी उठिरहेको सन्दर्भ उल्लेख गर्दै पहाडीले सोही अनुरुप कर्णालीले न्याय पाउनुपर्ने र कर्णालीलाई क्षतिपूर्ति दिलाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।सुर्खेत शाखा सभापति दिपक गौतमको सभापतित्वमा सम्पन्न नागरिक संवादमा प्रमुख अतिथि कर्णाली सरकारका पुर्व मुख्यमन्त्री जीवन ब. शाही हुनुहुन्थ्यो भने सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेशका पूर्व अर्थमन्त्रीहरु विन्दमान विष्ट र वेदराज सिंह, पुर्व सामाजिक विकास मन्त्री खड्क पोख्रेल, नेपाली कांग्रेस प्रमुख सचेतक हिक्मत विष्ट, योजना आयोग कर्णाली प्रदेशका सदस्य अशोकनाथ योगी, शान्ति समाजका सभापति रेनुका पौडेल, मध्यपश्चिम विश्व विद्यालयका रजिस्ट्रार शोभाकर कंडेल लगायत राजनीतिक र नागरिक समाजका गरि दुई दर्जन बढी वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । शान्ति समाजद्वारा तयार गरिएको ४ पृष्ठको अवधारणापत्र कर्णाली प्रदेश सचिव दिल्लीप्रसाद जैसीले प्रस्तुत गर्नुभएको थियो भने सहजिकरण महासचिव प्रकाश शाहीले र स्वागत मन्तव्य केन्द्रिय सदस्य सीता यरीले गर्नुभएको थियो ।