
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२ /०२ / २८ को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम मिति २०८२ /०२ / २८, च.नं. संस्थानर/१७८ को नियुक्ति पत्रबाट उहाँलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । यसअघि उहाँ कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आज (२०८२ जेठ २८ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी।ई। गर्नुभएको छ । उहाँले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो भने उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो । पदभार ग्रहण गर्नुहुँदै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।