
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई गत चैत २१ गते कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा छानबिनका लागि जाँचबुझ समिति गठन गरेका थिए।
पाण्डेले उक्त घटनामा नेतृत्व गरेको ठहर गर्दै उनलाई कम्तीमा ६ महिनाका लागि निलम्बन गरिएको हो। यसअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ।
जोशीलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको छ। यस निर्णयको बोधार्थ मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई समेत जानकारी गराइएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन्।