
सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी विश्वकप लिग- २ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ। यो खेल बुधबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।
पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग- २ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ।
१७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स ( युएई) को १६ खेलबाट ६ अङ्क मात्र छ। नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी९२० सिरिज हुने छ।