
सुनाखरी न्युज/ काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादवले इलामको कन्याम–पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाँडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् ।आयोजना स्थलमै आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा मन्त्री यादवले निर्माणको काम ढिलो गरिने हो भने ठेक्का नै रद्द गरिने स्पष्ट पारे। उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा लापरवाही कदापि सह्य नहुने भन्दै ठेकेदार कम्पनीलाई अब बाँकी रहेको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए। मन्त्री यादवका अनुसार हालसम्म योजनाको ७७ प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम समयमा सम्पन्न गर्न कुनै बहाना स्वीकार्य हुने छैन।यसैगरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताए ।
मन्त्री यादवले भने, “वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कस्ले लिने र बाँकी रहेको यो खानेपानीको काम ततत्काल सुरु गर्नुहोला । अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस् ।” उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।
नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८ / ६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।