२०८२ फाल्गुन २५ , सोमवार

६६६ जना भिजिट भिसा यात्रु अध्यागमनबाट फिर्ता

tribhuvan-kathmandu-international-airport-ktm

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पछिल्ला १० दिनमा भिजिट भिसामा विदेश जान खोजेका ६६६ यात्रुलाई आवश्यक कागजात नपुगेको भन्दै विदेश जानबाट रोकिएको जनाएको छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको शंका र पछिल्ला समन्वयविहीन गतिविधिका कारण अध्यागमन कार्यालयले निगरानी तीव्र बनाएको हो।

विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत तथा सूचना अधिकारी अञ्जन न्यौपानेका अनुसार ८ जेठदेखि १८ जेठसम्मको अवधिमा ६६६ यात्रुलाई विदेश जान नदिइ फर्काइएको हो। तीमध्ये ४३७ जना यूएई जान लागेका थिए। बाँकी यात्रुहरू ओमान, कतार, मलेसिया र कम्बोडियातर्फ जान खोजेका थिए।

मानव तस्करी रोक्न अध्यागमनले यसअघि माघ १० देखि भिजिट भिसाका लागि ६ बुँदे नयाँ मापदण्ड लागू गरेको थियो । जसअनुसार यात्रुहरूसँग दुईतर्फी टिकट, होटल बुकिङ, ६ महिना म्याद बाँकी पासपोर्ट, कम्तीमा ५०० डलर बराबरको वैदेशिक मुद्रा, र बसाइको प्रमाण सहित नाता प्रमाणित कागजात आवश्यक पर्छ ।