२०८२ फाल्गुन २४ , आइतवार

लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित

WhatsApp Image 2025-05-31 at 08.38.55_8334525c

सुनाखरी न्युज/ काठमाडौं ।

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका उनको यो पहिलो कथा–कृति हो ।

पेज टर्नर प्रालिले प्रकाशन गरेको कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताए ।

तिमल्सिनाका अनुसार यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुच्र्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् ।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ । हाल उनी नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा छन् ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उनको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।