
सुनाखरी न्युज/ काठमाडौं ।
मलद्वारलगायत शरीरका विभिन्न भागमा लुकाएर र सवारीसाधनको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको विषय बारम्बार सार्वजनिक भइरहेको हुन्छ। बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए ।
उनीमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर ( खैरो हेरोइन) ३।३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो । लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीको घरमा पालिएको हो । भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता जोशीले बताउनुभयो ।
डीएसपी जोशीका अनुसार कुकुर डोर्याउँदै पैदल नै जोगवनी गएका उनले फर्कदा घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर लागुऔषध ल्याएको पाइएको हो। बरामद भएको लागुऔषध र कुकुरसहित नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।