२०८२ फाल्गुन २६ , मंगलबार

उनानब्बे हजार पशुलाई खोप

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

जिल्लामा खोप अधियान सञ्चालन गरी ८९ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो । चालु आर्थिक वर्षमा पूर्ण खोप कार्यक्रममार्फत ८९ हजार ५५१ गाईभैँसी, बाख्रा, भेँडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उहाँले बताउनुभयो ।

पूर्ण खोप अभियानका लागि एउटा वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय भएकाले अभियान सञ्चालन गरिएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताउनुभयो । पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावबाट बचाउन, पशुजन्य रोगको उपचार र नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मुल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ वटा जिल्लाका पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिरहेको छ ।

रासस