
सुनाखरी न्युज/ काठमाडौ ।
आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।
त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले दुवै पक्षको प्रदर्शनलाई लक्षित पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए । त्यसैले सवारी आवागमनको प्रबन्ध मिलाउन तत्कालका लागि ७८३ जना ट्राफिक प्रहरीहरु खटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले बताए । उनले अनलाइनखबरसँग भने, ‘तत्कालका लागि ७८३ जना परिचालन भइसकेका छन्, आवश्यकता अनुसार थप्न पनि सक्छौं ।’ उनका अनुसार कार्यक्रम स्थलतर्फ सवारी प्रवेश गर्न नदिई डाइभर्सन गर्ने व्यवस्था मिलाइएको छ ।