
सुनाखरी न्युज/ काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तरसम्म बढ्दै गएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन एकीकृत प्रयासको आवश्यकता औँल्याउनुभएको छ । नेपाल प्रेस युनियनले स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेस भूमिका’ कार्यक्रममा उहाँले जलवायु चेतना सम्बन्धमा सरकारसँगै सरोकारवाला सबैको भूमिका एकीकृत रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका रहे पनि जलवायुको असरबाट बढी प्रभावित हुनु परेको समेत बताउनुभयो । पूर्वसञ्चारमन्त्री समेत रहनुभएका डा रिजालले भन्नुभयो, “नेपालले पछिल्लो समय बेमौसमी वर्षाका कारण जलवायु विपद्का ठूलो क्षति ब्यहोर्नु परेको छ । यसमा क्षतिपूर्ति र दाबीका लागि अन्तरराष्ट्रिय पहल र पैरबी आवश्यक छ ।” फरक प्रसङ्गमा उहाँले पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै देखिएका चुनौती सामना गर्न सबै पक्षसँगै मिडियाको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य उदयशम्शेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाँले सामाजिक सञ्जालमा देखिएका विकृति समाधानका लागि मिडियाका भूमिकाबारे प्रकाश पार्नुभयो ।प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तन विश्वको जल्दोबल्दो विषय भएको उल्लेख गर्दै यसमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले मिडियामा देखिएका विकृति समाधानका लागि प्रेस युनियन जस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले पछिल्लो समय केही व्यक्तिका विकृति देखाएर सिङ्गो राजनीतिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा भ्रम चिरेर यथार्थ देखाउनका लागि प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, पूर्वअध्यक्षहरु रमेश तूफान, कुलचन्द्र वाग्ले, समीरजङ्ग शाह, बद्री सिग्देल, युनियनका उपाध्यक्ष नकुल अर्याल, पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचन्द र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य प्रेमिका रानाले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि युनियनले खेल्दै आएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
रासस