२०८२ फाल्गुन २३ , शनिवार

१ देखि ९ कित्तासम्मको अड लट सेयर किनबेच सहज गर्दै नेप्से

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले १ देखि ९ कित्तासम्मको अड लट सेयर किनबेच सहज गर्ने भएको छ ।

 

लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ ।

 

 

मुख्यतः सेयर बिक्री गरिसकेपछि आउने बोनस सेयरका कारण अधिकांश लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्ता सेयर थन्किरहेको छ । यस्तो सेयरले पोर्टफोलियो भद्रगोल देखिने, थप लाभबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

कम्पनीहरूले दिने बोनस सेयर, हकप्रद सेयर वा पहिले झुक्किएर पूरा सेयर बिक्री नहुँदा एकल सेयर संख्या डिम्याट खातामा बस्ने गर्छ ।

 

कुनै कम्पनीले १० प्रतिशत बोनस सेयर दियो, यदि डिम्याट खातामा ४र५ कित्ता मात्रै सेयर बसेको छ भने त्यस्तो सेयरमा बोनस पाइँदैन, बेच्न पनि पाइँदैन, मूल्य समायोजन हुँदा घट्न जान्छ ।

वर्षौंदेखि रहेको यो समस्या अब भने छिट्टै हल हुने भएको छ । नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० ले छिट्टै नै मार्केट डेप्थमा देखिने गरी १ देखि ९ कित्तासम्मको सेयर अर्डर पोस्ट गर्न सकिने व्यवस्था गर्न लागेको हो । प्राविधिक टिमसँग यसबारे छलफल भइरहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

 

मार्केट डेप्थमा देखिने गरी यस्तो सेयर संख्या किनबेचका लागि प्रविष्ट भएमा चाहनेले सहजै किनबेच गर्न सक्छन् । तर, यसरी हुने अड लट कारोबारले कुनै पनि सूचकलाई प्रभाव पार्ने छैन ।