२०८२ चैत्र ५ , बिहिवार

ई–रिक्साले फेरियो जीवनशैली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बिहान घरको काम सबै भ्याएर विद्युतीय रिक्सा चलाउँदै बजार पुग्ने धनगढी नगरपालिका–९ की अनिता दिक्तेलको दिनचर्या विद्युतीय रिक्सामा बित्ने गर्दछ । कहिले बजारकै गल्ली त कहिले अत्तेरिया, गुलरिया, क्याम्पस रोडसम्म पनि यात्रु बोक्दै पुग्नुहुन्छ उहाँ । विगत छ वर्षदेखि बिहान १०÷११ बजेदेखि साँझसम्म यसरी नै रिक्सा चलाएर उहाँले परिवारको गुजारा चलाउँदै आउनुभएको छ । रिक्सा चलाएर दैनिक कम्तीमा हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसमा तेल हाल्नु नपर्ने हुँदा धेरै खर्च लाग्दैन । विद्युत्मा चार्ज गर्दा खासै पैसा उठ्दैन । मर्मत गर्नु पर्दा मात्रै केही खर्च लाग्ने हो । कमाएको जति बचाउन सकिन्छ ।” सुरुमा अर्काले प्रयोग गरेको रिक्सा चलाउनुभएको थियो । पछि आफैँले किनेर चलाएको उहाँ बताउनुहुन्छ । रिक्साबाटै राम्रै आम्दानी भएपछि उहाँले श्रीमान्लाई पनि भारतबाट झिकाएर यही पेसामा लगाउनुभएको छ । झण्डै १२ वर्ष भारतका विभिन्न सहरमा गाडी चालकको रुपमा काम गर्दा पनि घरखर्च चलाउन मुस्किल भएको देखेपछि घरमै परिवारसाग बसेर कमाइ गर्न सकिने भएकाले उहाँका श्रीमान्ले पनि केही समयदेखि विद्युतीय रिक्सा चलाउन थाल्नुभएको छ ।

“अहिले हामी दुबैको आम्दानीले घरखर्च गर्न, दुई छोराछोरीलाई पढाउन सकेका छौँ”, उहाँ भन्नुहुन्छ, “दुवै जना एउटै पेसामा हुँदा सजिलो पनि भएको छ ।’’ सुरुमा अप्ठेरो लागे पनि चलाउन सजिलो भएको बताउँदै उहाँ भन्नुहुन्छ, “घरमा खाली बस्नुभन्दा सहजै दिनमा कम्तीमा पनि हजार रुपैयाँ कमाइ हुन्छ ।” पुरुषको भन्दा महिला चालक भएको रिक्सामा यात्रु पनि बढी बस्न खोज्ने उहाँले बताउनुभयो । उहाँहरुको देखासिकी गरी अहिले धनगढीका धेरै महिलाहरूले ई–रिक्सा चलाउने पेसा अँगाल्न थालेका छन् । यसले आर्थिक रूपमा आत्मनिर्भर बन्ने अवसर दिनुका साथै पुरुष–प्रधान क्षेत्रमा महिलाहरूको पहिचान स्थापित गर्ने बाटोसमेत खोलिदिएको छ । सोही ठाउँकी भावना दिक्तेललाई पनि विद्युतीय रिक्साले घरखर्च चलाउन सहज मात्र भएको छैन, स्वाभिमानपूर्ण जीवनयापन गर्न पाएकामा गर्वको अनुभव भएको छ । उहाँ भन्नुहुन्छ, “दुई÷चार पैसाको लागि अब कसैसँग हात पसार्न परेन । आफ्नै पाखुराको कमाइ जति ठूलो अरुले दिएको हुँदैन ।” सजिलोसँग चलाउन सकिने, राम्रो आम्दानी हुने र घरधन्दा भ्याएर पनि आफ्नो समयअनुसार गर्न सकिने भएकाले यो महिलामैत्री भएको उहाँको भनाइ छ । “हाम्रो लागि ड्राइभिङ एउटा नयाँ सीप हो ।

हामीमध्ये केहीलाई साइकल पनि चलाउन आउँदैन थियो तर अब हामी सडकमा आपmैँ निधक्क भएर रिक्सा चलाउन सक्छौँ र यसले हाम्रो आत्मविश्वास पनि बढेको छ । मेहेनत र कोसिस गरे जे पनि सम्भव छ भन्ने लागेको छ”, भावना भन्नुहुन्छ । केही वर्षयता तराई क्षेत्रका सहरी तथा अर्ध–सहरी क्षेत्रमा विद्युतीय रिक्सा (ई–रिक्सा) तीव्र रूपमा लोकप्रिय बन्दै गइरहेका छन् । यी ब्याट्री–चालित सवारी साधनहरू वातावरणमैत्री मात्र नभई किफायती पनि छन्, जसले यात्रु र चालक दुवैका लागि सुलभ र व्यवहारिक यातायात समाधान प्रदान गरिरहेका छन् । सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडले दिगो ऊर्जा चुनौती कोषमार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनप्र्राप्ति एवं सशक्तीकरण (रिप–ग्रीन) कार्यक्रमको सहयोगमा ई–रिक्साका लागि कर्जा तथा ड्राइभिङ तालिम सञ्चालन गरेपछि महिलाहरुको सहभागिता ह्वात्तै बढेको छ । व्यावसायिक ड्राइभिङ केवल पुरुषहरूको मात्र पेसा होइन भन्ने धारणामा पनि परिवर्तन आएको छ ।

स्वच्छ ऊर्जा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ र वैशाखमा धनगढीमा सञ्चालन गरिएको सो तालिमले महिलाहरूका लागि नयाँ आर्थिक अवसरहरू सिर्जना गरेको सहकारीको धनगढी शाखाका प्रबन्धक जीवनबहादुर बम बताउनुहुन्छ । सुरुमा उनीहरुलाई चार दिनको तालिम दिइएको थियो भने पछि सात दिनको तालिम दिइएको छ । उहाँका अनुसार सहकारीले ५६ जना महिलालाई ई–रिक्सा चलाउने तालिम दिइसकेको छ । तालिम सँगसँगै सहकारीले कुल १२० जनालाई रिक्सा किन्नको लागि ऋण उपलब्ध गराइएको बताउँदै उहाँ भन्नुहुन्छ, “सहभागीहरू ड्राइभिङ लाइसेन्स प्राप्त गर्न उत्साहित छन् र धेरैजसोले आफ्नै ई–रिक्सा किनी पनि सकेका छन् ।” ई–रिक्साबाहेक सहकारीले जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयद्वारा सञ्चालित रिप–ग्रीनको सहयोगमा नवीकरणीय कर्जा कार्यक्रमअन्तर्गत सौर्य पानी तान्ने पम्प र बायोग्यासको पनि प्रवद्र्धन गर्दै आएको छ ।

रासस