२०८२ फाल्गुन २४ , आइतवार

थाइल्यान्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य

nepal-thailand2025-05-20-10-51-20

सुनाखरी न्युज/ काठमाडौं ।

आईसीसी महिला टी- २० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । बैंककमा नेपालले टस जित्दै थाइल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । थाइल्याण्डले निर्धारित २० ओभरमा मात्र दुई विकेटको क्षतिमा १५८ रनको विशाल स्कोर बनायो। थाइल्याण्डका लागि दुई जना ब्याटरले अर्धशतक प्रहार गरे। २८ बलमा नानापत कोन्चारनकाइले अर्धशतक प्रहार गर्दै अविजित रहिन्। यस्तै नाथ्या बूचाथमले पनि ४२ बलमा ५० रन प्रहार गरिन्।

अफिसारा सुवान्चोनराठीले २९ रन बनाउँदा नात्थकरण चन्थम १५ रनमा अविजित रहिन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले एक- एक विकेट लिनुबाहेक अन्य बलरले कसिलो प्रदर्शन गर्न सकेनन्। नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन् । आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ ।

सोमबार भएको खेलमा नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा पुग्ने पक्का भएको थियो ।