२०८२ फाल्गुन २५ , सोमवार

पर्यटनबाटै गण्डकी प्रदेशको समृद्धि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार रहेकाले यसको विकास प्रवर्द्धनमा सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयम उहाँले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनलाई प्राथमिकता दिनसके देशको आयवृद्धि हुने उहाँको विश्वास छ । नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहालले संविधानअनुरुप बन्नुपर्ने प्रदेश कानुन बनिसकेको र त्यसको कार्यान्वयनका लागि सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बलियो समन्वय आवश्यक रहेको औँल्याउनुभयो । सांसद दाहालले मधेसका आठ जिल्लालाई अन्न भण्डारको रुपमा विकास गर्न कृषि उत्पादन प्रवद्र्धन र कृषकलाई प्रोत्साहन, सिँचाइ र मलखादको व्यवस्था तथा सुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन सरकारसमक्ष माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गर्नुभयो । उहाँले निर्माणाधीन द्रुत मार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।  नेकपा (समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले अनियमितता नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । दैनिक उपभोग्य वस्तुको महँगी नियन्त्रण गर्न, खाना पकाउने एलपी ग्यासको सहजताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सांसद मोहम्मद खालिनले मधेस प्रदेशको समग्र विकासा लागि बजेट सुनिश्चित गरिनुपर्ने बताउनुभयो । उहाँले मधेसको विशेषतालाई खलबल्याउने काम भइरहेको दाबी गर्नुभयो ।  त्यसको उदाहरणको रुपमा हालै सर्लाहीमा समुदाय विशेषका दुई जनालाई सुँगुरको खोरमा थुनेको घटना गम्भीर लापर्वाही भएको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न र सामाजिक सद्भाव कायम गर्न माग गर्नुभयो ।

साथै उहाँले तराई–मधेसको शिक्षा, स्वास्थ्य पूर्वाधार विकास तथा गरिवी नियन्त्रणमा राज्यको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले लुम्बिनी प्रदेशको समग्र विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले प्रदेशको पर्यटन विकासका लागि गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासमा बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना चाडो सम्पन्न गर्न, सुशासन प्रवर्द्धन र पुँजीगत खर्च बढाउने गरी बजेटमा समावेश गर्न माग गर्नुभयो । सांसद शर्माले लुम्बिनी प्रदेशलाई अन्न भण्डारको केन्द्रको रुपमा विकास गर्न, सिँचाइको व्यवस्था, फलफूलखेती र जडीबुटीखेती उत्पादन प्रवद्र्धनमा ध्यान दिन सरकारसमक्ष माग गर्नुभयो ।
रासस