
सुनाखरी न्युज/. काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ पृथ्वीसुब्बा गुरुङ सम्मानित हुनुभएको छ । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज यहाँ उहाँसहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले सम्मान गर्नुभएको हो । राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा भाग लिइ जनताको आवाज संसदमा पु¥याउने र पञ्चायति शासन व्यवस्थाको भण्डाफोर गर्ने पार्टीका नीतिबमोजिम २०४३ सालमा भएको निर्वाचनमा भाग लिनुभएका नेता गुरुङ थोरै मतले पराजित हुनुभएको थियो । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान गरिएको थियो । विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट वक्ताका रूपमा परिचित हुनुहुन्छ । सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादोन्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताउनुभयो ।
रासस