
सुनाखरी न्युज/. काठमाडौं ।
पाल्पाका स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन सीप विकासमा जोड दिन थालेका छन् । घरायसी कामका अलवा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा स्थानीय तहले सीप विकास कार्यक्रमअन्तर्गत विभिन्न तालिम प्रदान गरेका छन् । पोतेमाला, चुरा, स्वीटर बुन्ने, सिलाइकटाई, साबुन, सरफ, आलुचिप्स, अचार बनाउने, मकैका खोस्टा र थाकलको पातबाट झोला, क्रिस्टलको गरगहना र धुप बनाउनेलगायत सीपमूलक तालिम स्थानीय तहबाट आयोजना भइरहेका छन् । घरमै फुर्सदको समय बिताएर बस्ने महिला हिजोआज सीप विकास तालिममा सहभागी भएर आयआर्जनतर्फ अग्रसर हुन थालेका छन् । उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत यस वर्ष पोतेमाला तथा चुरा बनाउने तालिममार्फत महिलालाई व्यवसाय सञ्चालन तथा प्रवर्द्धन सीप प्रदान कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । स्थानीय उत्पादनको अभिवृद्धि गरी रामपुरलाई आत्मनिर्भर बनाउन विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ ।“दैनिक जीवनमा आवश्यक पर्ने वस्तु उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सीपका आयमूलक तालिम सञ्चालन गर्दै आएका छौँ, आर्थिक समृद्धि र जीविकोपार्जनका लागि सीपमूलक तालिम महत्त्वपूर्ण हुने छ, हरेक वर्ष नगर सरकारले सीपमूलक तालिम आयोजना गरी महिला उद्यमी उत्पादन गर्ने गरेको छ”, नगरउपप्रमुख थापाले भन्नुभयो ।
तालिममा सीप सिकेर उद्यमी बन्न चाहने महिलालाई सृजनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यावसायिक बनाउनका साथै व्यावसायिक योजना बनाउन सिकाइने गरेको उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्रका ३८ महिलालाई सीप विकास प्रदान गरिने छ ।यसैगरी तानसेन नगरपालिकाका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम प्रदान गरिएको छ । यहाँका वडा नं ३ मा बसोबास गर्ने महिलालाई लक्षित गर्दै वडा कार्यालयको सहयोगमा उक्त सीपमूलक तालिम आयोजना गरिएको हो । पुरानो पानीट्यङ्की टोल विकास संस्थाको आयोजनामा भएको तालिममा सहभागी महिलाले क्रिस्टलको गहना र धुप बनाउने सीप सिकेका छन् । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन सीपमूलक तालिम सञ्चालनमा जोड दिएको तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिनुभयो । यस्ता तालिमले महिला सशक्तीकरणमा सघाउ पुग्ने उहाँको भनाइ छ । यस्ता सीपमूलक तालिम लिएर यहाँका महिलाले व्यवसायतर्फउन्मुख हुने गरेका छन् । साँझबिहान घरधन्दा सकाएर आयआर्जन बटुल्न सकिने हुँदा सीपमूलक तालिम महिलाका लागि उपलब्धिमूलक बनेको छ । थोरै लगानीमा घरमै बसेर आम्दानी गर्न सकिने भएपछि महिलाहरू पनि यस्ता तालिममा उत्साहित हुँदै सहभागिता जनाउने गरेका छन् ।
रासस