
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईँहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
सो असवरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए। मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राको लागि राष्ट्रपति भवनमा शुभकामनासहित बिदाइ गरिनु गौरवको विषय भएको बताए।