२०८२ फाल्गुन २४ , आइतवार

गोवर्धन महायज्ञको समापन: गोधामको शिलान्यास

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा ३८ फिट अग्लो गोवर्धन र आठ फिट अग्लो शङ्खको मूर्ति राखिने भएको छ । धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उद्दे्रश्यले सो स्थानमा गोबर्धन र शङ्खको मूर्ति निर्माणका क्रममा स्थानीय जनताको विशेष उपस्थितिसहित शिलान्यासको काम पूरा भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्प र नेतृत्वमा यही वैशाख १५ गते सुरु भई वेशाख ३० गते समापन भएको ज्यामरुककोटस्थित महायज्ञस्थलमा ती मूति राखिने मुल आयोजक समितिका संयोजक एवं पूर्ववडा अध्यक्ष हीराबहादुर थापाले जानकारी दिनुभयो । संयोजक एवं पूर्ववडाअध्यक्ष थापाका अनुसार गोबर्धन र शङ्खको मुर्ति यज्ञस्थलमा राख्नेगरी शिलान्यास भएको र ‘गोधाम’का रूपमा विकसित गर्न लागेको सो स्थानमा आयुर्वेदिक चिकित्सालयका लागि जडिबुटि केन्द्र, योगसाधना र सनातन धर्म संस्कृतिको संरक्षणका लागि आवश्यक संरचना निर्माण गर्न सामुहिक सङ्कल्पसहित काम सुरु भइसकेको छ । सो स्थानमा सञ्चालित महायज्ञबाट करिव रु एक करोड रकम सङ्कलन भएको जानकारी दिँदै संयोजक थापाले यज्ञस्थलमा निर्माण गरिने मूर्तिसहितका अन्य संरचना निर्माणका लागि अपुग रकम सरसहयोग, चन्दालगायत विभिन्न स्रोतबाट जुटाइ सङ्कल्प गरिएअनुसारका पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसै सन्दर्भमा पूर्वाधार निर्माणका लागि स्थानीय बेनी नगरपालिकाले रु १० लाख र वडा नं २ ज्यामरुककोटले रु पाँच लाख रकम दिने निर्णय गरेको आयोजक समितिले जनाएको छ । महायज्ञमा दाताले दिएको जग्गामा आयुर्वेर्दिक चिकित्सालयका लागि जुडीबुटी केन्द्र, स्थानीय गाईको पवर्द्धनका लागि गौशला, पर्यटनप्रवर्द्धन, योगसाधना तथा सनातन संस्कृतिको संरक्षणसहित विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दीर्घ रिजालले बताउनुभयो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यज्ञस्थलमा नै आई सङ्कल्प गरिएअनुसारको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी आवश्यक संरचना निर्माण गर्न प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो । समुद्री सतहदेखि करिब दुई हजार उचाइमा रहेको गौश्वारा क्षेत्रलाई पर्यटकीय सम्भावना रहेको उत्कृष्टस्थलका रूपमा लिइन्छ । यहाँ प्राकृतिक सुन्दरता र जैविक विविधताका हिसावले महत्वपूर्ण स्थानका रूपमा चिनिए पनि प्रचारप्रसारसहित आवश्यक लगानीको अभावमा यो स्थल ओझेलमा परेको बेनी नगरपालिका–२ का वडासदस्यसमेत रहनुभएका स्थानीय चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । महायज्ञका प्रमुख वाचक आचार्य सुदर्शन बडाल हुनुहन्थ्यो ।

रासस