
सुनाखरी न्युज/ काठमाडौं ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो । संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । अहिले ५० भन्दाबढी बालीको बीउ सङ्कलन गरिएको उहाँले उल्लेख गर्नुभयो । “हामीले ५० भन्दाबढी लोेप हुने अवस्थामा रहेका बाली सङ्कलन गरेका छौँ, ती बालीको बीउ सङ्कलन गरेर बैंक बनाएका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।” कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बतानुभयो ।“परम्परागत बाली धेरै लोप भइसकेका छन्”, उहाँले भन्नुभयो, “यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो ।” यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रासस