
सुनाखरी न्युज/ काठमाडौं ।
थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ ।
छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२:३५ बजे सुरु हुनेछ ।
डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।
नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन ।
हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ ।
अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।