२०८२ चैत्र ६ , शुक्रवार

पर्वतका उत्कृष्ट उद्यमी सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लको जलजला गाउँपालिकामा विभिन्न उद्यम व्यवसायमा संलग्न उत्कृष्ट ४० जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा पालिकामा सम्भाव्यता अध्ययन र उद्यमीलाई आवेदन आह्वान गरेर तथ्याङ्क सङ्कलन गरिएको थियो । जलजलाका नौवटै वडाबाट एक सय ५४ जना उद्यमीले आवेदन दिएकामध्ये उद्यमीको उद्देश्य, सोच, वित्तिय अवस्था, नवप्रवर्द्धन, उद्यमको वर्तमान अवस्था, व्यावसायिक योजना, बजारको अवस्था, उद्यमीको सामाजिक प्रभावलगायत सूचकका आधारमा ४० जना उद्यमी छनोट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, लेखा अधिकृत फणिन्द्रप्रसाद आचार्यलगायतले उत्कृष्ट जलजला उद्यमीका रूपमा कृषि, पशुपालन, खाद्य प्रशोधन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरिरहेका उद्यमीलाई सम्मान गर्नुभएको थियो । छनोट भएका उद्यमीलाई व्यावसायिक योजनासम्बन्धी तालिम, व्यावसायिक योजनाका आधारमा उत्कृष्ट २० छनोट गरिने कार्यक्रमका स्थलगत अधिकृत भगवती पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट २० जनामा छनोट हुने उद्यमीलाई जनही रु २५ हजारका दरले पुरक अनुदान उपलब्ध गराइने छ । त्यसैगरी उत्कृष्ट १० मा छनोट हुने उद्यमीलाई उद्यम प्रवर्द्धनका लागि ५० प्रतिशत साझेदारी रहनेगरी जनही नगद रु एक लाख ५० हजारका दरले पूरक अनुदान दिइने जनाइएको छ । पालिकाभरबाट सर्वोकृष्ट हुने एक जना उद्यमीलाई उद्यमशीलता विस्तारका लागि थप रु एक लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले उद्यम प्रवर्द्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले उद्यमीलाई व्यावसायिक योजना बनाएर उत्पादन बढाउन र व्यावसायिक क्षेत्र विस्तारमा सघाउन कार्यक्रमले सहयोग पुग्ने बताउँदै कार्यक्रमअन्तर्गत प्रदान गरिने पूरक अनुदानले उद्यमीको क्षमता विस्तारमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष आचार्यले कार्यक्रमअन्तर्गत उद्यमीले पेस गरेको विवरणका आधारमा उत्कृष्ट उद्यमी छनोट गरिएको बताउँदै छुटेका उद्यमीलाई राष्ट्रपति महिला सुधार कार्यक्रमलगायतबाट सम्बोधन गरिने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धित पालिकाको सहकार्यमा जलजलासँगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुँको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा बृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।

रासस