
सुनाखरी न्युज/ काठमाडौं ।
१९० शो सहित प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ले आक्रामक सुरुवात गरेको छ । चलचित्र हेर्न मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले उत्साहजनक ओपनिङ गरेको छ । फिल्म रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । शुक्रवार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रह्यो ।
अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल भएका थिए । कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए र प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गरेका थिए ।नवीन चौहानद्वारा निर्देशित यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय छ ।पहिलो दिनको सफलता देखेर देशभरका धेरै हलहरूले शनिवारका लागि शो सङ्ख्या बढाएका छन् । शनिवार बिहानैदेखि अधिकांश हलहरू हाउसफुल देखिएको वितरक गोविन्द शाहीले जानकारी दिए । उनका अनुसार चलचित्र हाल ३०० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।
दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘ऊनको स्वीटर’लाई शुक्रवार र शनिवारको कलेक्सन एकैसाथ सार्वजनिक गरिने बताइएको छ । पहिले नै प्रिमियर शोमा विशिष्ट अतिथि तथा आम दर्शकबाट प्रशंसा बटुलिसकेको यो चलचित्रले नेपाली समाज, संस्कृति र प्रेमकथालाई समेट्ने प्रयास गरेको छ ।