
सुनाखरी न्युज/ काठमाडौं ।
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले मिश्रित प्रतिक्रिया जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमका योजनाहरू कार्यान्वयन हुनुपर्ने प्रतिक्रिया दिनुभयो । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले नीति तथा कार्यक्रम प्रत्येक वर्ष आउने भए पनि कार्यान्वयन पक्ष नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति धेरै आउँछन् तर कार्यान्वयन महत्वपूर्ण पक्ष हो । जुन नीति तथा कार्यक्रम आएको छ, त्यसका राम्रा पक्षलाई दृढताका साथ कार्यान्वयन गरेर सरकार अघि बढ्छ भन्ने आशा छ ।” लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले यथाशीघ्र पूर्वदेखि पश्चिमसम्म भएका सिँचाइ योजनाहरू व्यवस्थित गरी नेपाललाई अन्न भण्डारका रूपमा पुनर्जीवित गर्न सुझाव दिनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले समग्रमा कृषि, उद्योग, पर्यटन, रोजगारी, जडीबुटीलगायत प्रत्येक क्षेत्रमा ठोस कार्यक्रमहरू आउनुपर्नेमा प्रस्तुत नीति तथा कार्यक्रममा त्यो नदेखिएको बताउनुभयो ।
रासस