२०८२ फाल्गुन २३ , शनिवार

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी बिषय

Exam-writing_20190316053914

सुनाखरी न्युज/ भक्तपुर ।

कक्षा १२ को परीक्षा आजदेखि सुरु  भएको  छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षा भएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।

यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

 

राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् ।

बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मनाङ-मुस्ताङमा एक-एक केन्द्र निर्धारण गरिएको छ ।

 

परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने भएका छन् ।

 

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने० र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी ९रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ ।