
सुनाखरी न्युज/ काठमाडौं ।
ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।‘यो दुःखद् घटनाको जानकारी पाएको क्षणदेखि नै भारतको परराष्ट्र मन्त्रालय ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।’
उनको मृत्यु भएको खबर पाएलगत्तै भूवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो । त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ । उनको बुबा त्यहाँ पुगेपछि मात्र पोस्टमार्टम गर्ने भनिएको छ । यसअघि फागुन दोस्रो साता पनि केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज पटकपटक उजुरी दिएकी थिइन् ।