
सुनाखरी न्युज/काठमाडौं ।
काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् । काठमाडौँ महानगरपालिकाले माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् ।
स्थानीयको अवरोधका कारण केही गाडी सिसडोल र केही त्योभन्दा तल बाटोमै रोकिएका छन् । काठमाडौँ उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ ।
तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको जानकारी दिएका छन् । हरेक दिन बिहान माछापोखरीकाे सडकमै तरकारी बेच्ने गरिएकोमा केही साताअघि महानगरले रोक लगाएकोमा विरोध हुँदै आएको छ ।