२०८२ चैत्र ५ , बिहिवार

२0 अप्रिल २०२५ का दिन दुबइको Creek Park मा Nepal Festival -2025 कार्यक्रमको आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

२0 अप्रिल २०२५ का दिन दुबइको Creek Park मा Nepal Festival -2025 कार्यक्रमको आयोजना गरियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रम “नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव”का रुपमा सम्पन्न भएको थियो। नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्व र समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक Nepal Festival आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री पौडेलले नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएको हुँदा हामीले हाम्रो मौलिक संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई विश्वसामु परिचित गराउदै समग्र नेपालको पर्यटन उद्योगको विकास मार्फत जनताको सुनौलो भविष्य निमार्णका लागि योगदान गर्नुपर्ने बताउनु भयो र नेपालको प्राकृतिक छटा र सांस्कृतिक विविधताको अनुभव लिन मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध गर्नुभयो।

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु रहेको बताउदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने बताउनु भयो। स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको बताउदै आफ्नो युएईको भ्रमणका क्रममा नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको कुरा समेत बताउनु भयो।  उहाँले विदेशमा रहेका नेपाली श्रमिकहरुले Telemedicine सेवा मार्फत स्वास्थ्य उपचार सेवा लिन सक्ने जानकारी गराउदै मृगौला तथा गभ्मीर प्रकृतिको रोगको उपचार गर्न नेपाल सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउने गरेको जानकारी पनि दिनु भयो । माननीय मन्त्री पौडेलले युएई सरकारले नेपाली समुदायप्रति देखाएको सहयोग र सद्भावनाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

माननीय मन्त्री पौडेलले नेपालीहरुका लागि युएई एक प्रमुख लोकप्रिय वैदेशिक रोजगारीको गन्तव्य मुलुक भएको बताउदै विदेशमा रहने सम्पूर्ण नेपालीहरु सद्भावना राजदूतको रुपमा रहेकोले सधै नेपालको इज्जत र प्रतिष्ठा कायम गरी अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भइ एकआपासमा मिलेर कार्य गर्न पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्नुभयो। उहाँले विदेशी भूमिमा कार्यरत रहेर पनि नेपालीहरु एकजुट भई नेपाल झल्काउने Nepal Festival महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावास लगायत यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो। सो कार्यक्रममा महामहिम राजदूत तेजबहादुर क्षेत्रीले Nepal Festival -2025 मा नेपालको सांस्कृतिक बिविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताउनु भयो।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि युएईमा रहनुभएका सबै नेपालीलाई आव्हा्न गर्नुभयो भने गैर आवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सवैलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो। उक्त Nepal Festival कार्यक्रममा सिङ्गो नेपाललाई प्रतिविम्वित गर्ने नेपालको परम्परागत झाँकी, नृत्यहरु प्रस्तुत गर्नुका साथै नेपालबाट आएको सांङ्गितिक समूह सुरसुधा लगायत ख्यातिप्राप्त कलाकारहरुको साङ्गितिक तथा नृत्य प्रस्तुति रहेको थियो।साथै, उक्त फेस्टिवलमा नेपाली खानेकुरा, पर्यटन, हस्तकला तथा नेपाल झल्काउने किसिमका बिभिन्न ५० वटा स्टलहरु राखिएका थिए। उक्त Nepal Festival मा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरु, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरु, नेपालका शुभचिन्तकहरु सहित स्वदेशी तथा विदेशी गरी करिब ४० हजार मानिसहरुले अवलोकन भ्रमण गरेका थिए। सो कार्यक्रम विहान १०:00 बजेदेखि राती १०:00 बजेसम्म सञ्चालन गरिएको थियो। उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने युएईका रहेका सम्पूर्ण संघसंस्था तथा नेपाली दाजुभाइ एवं दिदीवहिनीहरुप्रति नेपाली राजदूतावास हार्दिक कृतज्ञता व्यक्त गर्दछ।