२०८२ चैत्र ५ , बिहिवार

गन्धर्व संस्कृति प्रवर्द्धनका लागि सारङ्गी वादन सीप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जिल्लाको कोहलपुर नगरपालिकाले गन्धर्व समुदायको संस्कृति प्रवर्द्धनका लागि सारङ्गी वादन तालिम सुरु गरेको छ । नगरपालिकाभित्र रहेका लोपोन्मुख गन्धर्व समुदायका लागि संस्कृति प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यले छ दिने सारङ्गी वादन तालिम सञ्चालन गरिएको हो । आर्थिक रूपमा विपन्न र सामाजिक रूपले पछाडि परेका गन्धर्व समुदायलाई आत्मनिर्भर बनाउँदै संस्कृति जोगाउन सारङ्गी वादन तालिम सुरु गरिएको कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले जानकारी दिनुभयो । “गन्धर्व समुदायको संस्कृति जोगाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउन सबैको सहयोगको खाँचो छ”, उहाँले भन्नुभयो, “गन्धर्व समुदायको संस्कृतिको प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व भएकाले तालिमको आयोजना गरी सीप विकासमा लागेका हौँ ।”

उहाँले गन्धर्व समुदायका नयाँ पुस्ताले आफ्नो संस्कृति र कलाबाट पहिचान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय गन्धर्व समुदायले समय अनुसार आफ्नो पेसालाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै पहिलेको जसरी घरघरमा र सडक, बजारमा मात्र नभइ यसलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्ने संयोजक विश्वकर्माले बताउनुभयो । पछिल्लो पुस्तालाई आफ्नो कला, संस्कृति हस्तान्तरण गर्दै संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको गन्धर्व विपन्न अल्पसङ्ख्यक संस्कृति संरक्षण विकास सङ्घ कोहलपुर–२ का अध्यक्ष सुशीलकुमार बैगारले बताउनुभयो । गन्धर्व समुदायको संस्कृति र सारङ्गी वादन तालिमले यो समुदायलाई जीवनयापनमा थप राहत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तालिममा अधिकांश महिला सहभागी रहेका सङ्घले जनाएको छ । नेपालमा पहिलो पटक महिलाले पनि सारङ्गी रेट्न सक्ने गरी तालिमले सक्षम बनाउने आशा गरिएको नगरपालिकाको सामाजिक विकास समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
रासस