२०८२ चैत्र १ , आइतवार

यौन व्यवसायलाई कानुनी मान्यता दिने मागबारे संसदमा उठ्यो प्रश्न

singh

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भन्ने नेपाली कांग्रेसका प्रमुख सेचतक श्याम घिमिरेको अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले सो प्रस्तावप्रति आपत्ति जनाएका हुन् । आकस्मिक समयमा राप्रपा सांसद दीपकबहादुर सिंहले सत्तापक्षका सांसदले ‘वेश्यालय’ खोल्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।

‘स्तरीय पर्यटक भित्र्याउन र ज्यादा खर्च गर्ने पर्यटका लागि यौन परमिट लाइसेन्स दिनुपर्छ भनेर सत्ता पक्षका सांसदले प्रस्ताव गरेका छन् । वेश्यालय र कोठी सरकारले चलाउने दिन आएको हो,’ सांसद सिंहले प्रश्न गरे, ‘देवभूमी, माता सीता र भृकुटीको देश, देवी पुजनको देश । यही दिनको लागि राजतन्त्र फ्याकेर गणतन्त्र ल्याएको हो ? ’ त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् ।

उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन् ।उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु ।

यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लािग रुलिङको माग गर्दछु ।’ आइतबारको प्रतिनिधिसभा बैठकमा घिमिरेले पर्यटक भित्राउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।