
निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा निजामती कर्मचारीको उमेर हद बढाउने विषयमा भइरहेको छलफल सकारात्मक रूपले अघि बढिरहेको हो ।
समितिले विधेयकमाथि सांसदहरूले राखेको संशोधन प्रस्तावसमेतको अध्ययनसहित प्रतिवेदन बुझाउन नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनाएको समितिमा उमेर हद बढाउनेबारे भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको हो ।उमेर हद बढाउनु पर्ने कारण के हो भन्ने प्रश्नमा उपसमितिका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले वर्तमान निजामती सेवा ऐन बनाउँदा नेपालीको औसत आयु ६२ वर्ष भएकाले उमेर हद ५८ वर्ष बनाइएको र अहिले कर्मचारीको उमेर हद पछिल्लो जनगणनाअनुसार ७२ वर्ष पुगिसकेकाले ६० बनाउने विषयमा छलफल गरिएको जानकारी दिए ।
‘अहिलेको निजामती सेवा ऐन २०४८ सालमा बनाउँदा नेपालीहरूको औसत आयु ६२ वर्ष थियो । र कर्मचारीहरूको उमेर हद ५८ वर्ष बनाइयो,’ तामाङले भने, ‘अहिले पछिल्लो जनगणनाअनुसार औसत आयु ७२ वर्ष पुगिसक्यो । त्यसैले ६० वर्षे उमेर हद राख्नका लागि कानुनमा व्यवस्था गर्न लागिएको हो ।