
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न काठमाडौँ आउन लागेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।
सरकारले आजको राजवादीहरुको शक्ति प्रदर्शनमा विशेष नजर राख्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको छ । सरकारी पक्षको आजको प्रदर्शनमा करिब १० हजारको उपस्थिति हुनसक्ने आंकलन रहेको गृह स्रोतले जानकारी दिएको छ ।