
सुनाखरी न्युज/ काठमाडौं ।
कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्र्तगत स्वास्थ्यकमीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरबासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । स्वास्थ्य सेवा नगरबासीको पहुँचमा पु¥याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । “स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित हुनु हँुदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “अति विपन्न परिवार, दलित, मुक्त कमैँया, मुक्त हलिया, आरक्ष विस्थापित, सुकुम्बासीलगायतको घर दैलोमा पुगेर स्वास्थ्यकर्मीसहितको टोलीले सेवा उपलब्ध गराउन थालेका छन् ।”
स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, मृर्गौलालगायत नसर्ने रोगको परीक्षण गरिरहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य रोगका बारेमा पनि स्वास्थ्यकर्मीले स्थानीयलाई परामर्शसँगै निःशुल्क औषधि उपलब्ध गराइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि चार वटा स्वास्थ्यकर्मीको टोली बनाएर वडावडामा परिचालन गरिएको छ । कार्यक्रमअन्र्तगत ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षणमार्फत रिपोर्ट तयार गरी त्यसका आधारमा उपचारका लागि सिफारिस गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानअन्र्तगत ७० हजार नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ ।
गत वर्ष सोही कार्यक्रमअन्र्तगत अभियान सञ्चालन गरी २५ हजार बढीलाई सेवा दिइएको थियो । कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट परिचालन गरिएको छ । परिचालन गरिएको बजेटबाट स्वाथ्यकर्मीको तलब, उपकरण, औषधिलगायत खर्च गरिने नगर कार्यालयले जनाएको छ । यो कार्यक्रमसँगै नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी २४सँै घण्टा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा पुग्ने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख विष्टले उल्लेख गर्नुभयो । सुत्केरीलाई बर्थिङ सेन्टरसम्म पु¥याउन र दुर्घटना हुँदा उपचार आवश्यक भएकालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
रासस