
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् । अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताए ।प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् ।
हातमा हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’ सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे ।विदेशमा रहेका नेपालीहरूको अवस्था बुझनका लागि सरकारले तुरून्तै परराष्ट्र मन्त्रालयमार्फत गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गरेर नेपालीहरूको सुरक्षा गर्न पहल कदमी लिनुपर्ने उनको भनाइ थियो । नेपालमा भविष्य नदेखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको भाव दिने गीतबाट उनले सम्बोधन सुरु गरेका थिए ।
रासस