
सुनाखरी न्युज/ काठमाडौँ ।
रूसको आक्रमणको तीन वर्षपछि पनि ओल्गा शेइकोलाई युक्रेनी द्वन्द्धको छाँयाले लखेटिरहेको छ । भागेको पहिलो वर्षमा आफ्नो मानसिक तनाव (डिप्रेसन) का कारण शेइकोले आफ्नो शरीरमा २५ किलोग्राम (५५ पाउण्ड) तौल बढेको बताउनुभयो । शरीरमा तौलको यो वृद्धिलाई उहाँले युद्धको कारण भएको मानसिक तनावलाई कारक मान्नुहुन्छ । “हामी सबै तनावसँग अभ्यस्त भइसकेका छौं, तर शरीरका स्रोतहरू असीमित छैनन्,” ४२ वर्षीया शेइकोले आफ्नो ‘नयाँ घर’ वार्सामा एएफपीसँग भन्नुभयो । युद्ध चौथो वर्षमा प्रवेश गरेपनि शेइकोले किएभ, ओडेसा र आफ्नो गृहनगर जापोरिजियामा आफ्नो परिवार र साथीहरूको अवस्थाबारे जानकारी लिन हरेक पलमा समाचार हेर्ने गर्नुहुन्छ । उहाँले एएफपीसँग भन्नुभयो, युक्रेनका हरेक शहरमा गोलाबारी र विनाश पुगिसकेको छ र भोलि के हुन्छ भन्ने कसैलाई थाहा छैन।”
“अब के हुन्छ भन्ने विचारहरूले यहाँ बस्न गाह्रो बनाउँछ । विदेशमा भएपनि आराम महशुस हुँदैन र स्वदेशका घटनालाई टाढा रहेको कल्पना गर्न सकिँदैन किनभने हामी खराब समाचारको प्रत्याशामा बाँचिरहेका छौं,” उहाँले भन्नुभयो ।
– ‘रिसमा भागेँ’ –
हाल पोल्याण्डमा रहेका नौ लाख युक्रेनी शरणार्थीमध्ये ९० प्रतिशत महिला र बालबालिका छन् । उनीहरूको मानसिक स्वास्थ्य अवस्था उनीहरूको अनुभव, अनुकूलन गर्ने क्षमता र तिनीहरू कहाँबाट आएका हुन् भन्ने आधारमा फरक–फरक हुन्छ। धेरै निर्वासितहरू अझै पनि अलमलमा परेका छन् र उनीहरूले आफ्नो अवस्था बुझ्न सकेका छैनन् । वार्सामा मनोवैज्ञानिक सहायता कार्यशाला सञ्चालन गर्ने मनोचिकित्सक टेटियाना मोइसेइभा भन्नुहुन्छ्, “युद्धको सुरुमा तनाव तीव्र थियो।” युद्ध चर्किंदै जाँदा महिलाहरू ‘सञ्चित थकान’ सँग जुधिरहेका छन्। “शरणार्थीको बसाई गाह्रो कुरा होः यो वातावरण मनोवैज्ञानिक रूपमा अत्यन्त उराठलाग्दो छ र यसले मानसिक समस्या र रोगहरू निम्त्याउँछ,” “उहाँले भन्नुभयो । कार्यशालाहरूमा, सहभागीहरू एक सर्कलमा बस्छन् र आफ्ना भावनाहरू आदानप्रदान गर्छन् । यो एउटा यस्तो अभ्यास हो जसले प्रायः रोकिएका आँसुलाई भारिदिन्छ र उनीहरूको मन हलुङ्गोको बनाइदिन्छ । किएभकी २३ वर्षीया युवती डायना सोजोनोभाजस्तै उहाँ र अन्य कैयौँ शरणार्थी महिलाले आफूले सामना गरिरहेका धेरै दमित आघातको प्रभावको सामना गर्न एन्टीडिप्रेसेन्ट्स (औषधि)को सहारा लिएको बताउनुभयो ।
उहाँ यसअघि पनि गम्भीर डिप्रेसनको सिकार हुनुभएको थियो । युद्धको प्रकोपले यसलाई पुनः बल्झायो । सोजोनोभाले एएफपीसँगको कुराकानीमा भन्नुभयो, “मलाई आत्महत्या गर्ने विचार आउन थाल्यो ।” उहाँले युक्रेन फर्कने योजना बनाउनुभयो तर चिन्ताले बाधा पुर्यायो, पछिल्लो पटक उहाँले आफ्नो देशको अपेक्षाकृत सुरक्षित पश्चिमी भागको भ्रमण गर्दा एक अक्षम डरलाई माथ गरेको र आफुलाई लामो समयपछि साहस प्रदान गरेको बताउनुभयो । “मलाई लाग्थ्यो कि क्षेप्यास्त्रले मलाई लाग्न सक्छ र मेरो मृत्यु हुन सक्छ तर के भो त? आखिर मेरो रगत मेरो जन्मभूमिमा बग्नेछ । मेरो दुष्ट शत्रुलाई लाग्नेछ उनीहरूको क्षेप्यास्त्र हान्ने सिपाहीको भन्दा विस्फोटक पदार्थको छर्रा लागेर मृत्युवरण गर्ने मेरो शरीरमा कति धेरै शाहस र आत्मसम्मान छ भनेर” उहाँले भन्नुभयो । ३७ वर्षीया ओल्गा पोलियोभ्निचा छोराको भविष्यका लागि आफ्नो तीन वर्षीय छोरालाई लिएर किएभबाट भाग्नुभएको थियो । अहिले दुई बेडरुमको आरामदायी फ्ल्याटमा बसेकी उहाँ युक्रेनको एक विज्ञापन एजेन्सीका लागि अनलाइनमा काम गर्नुहुन्छ । उहाँले भन्नुभयो, “देशमा स्थिरताको यात्रा कठिन थियो। म रिसले दगुरेँ, तर एक वर्षपछि मैले त्यसो गर्न सकिनँ।” दक्षिणी युक्रेनको खेर्सनका पोलियोभ्निचाले भन्नुभयो, “अहिले म सुरक्षित छु तर दगुर्न सक्दिन।
किनकि यहाँको एक्लो बसाइले मलाई मानसिक पीडा दियो र हरीरमा रोग निम्त्यायो । मलाई डिप्रेसन भएको छ । औषधि खानुपर्छ । शक्ति पनि क्ष्ािण भएको छ।” जब युक्रेनमा आक्रमण भइरहेको थियो । सबै गाउँ छोड्दै हिडिरहेका थिए । त्यसै क्रममा मलाई एउटा सोच आयो, “मेरो एउटा बच्चा छ । यसका लागि केही गर्नुपर्छ यसले मलाई हेर्छ भन्ने महसुस गरेँ। बच्चा लिएर भागेँ र यहाँ शरणार्थीका रूपमा बसिरहेकी छु ।” “युक्रेनका मानिसहरूले यहाँ दुःख भोग्नु परेपनि उनीहरूलाइै हेर्दा आफूले अझ राम्रो गरिरहेको जस्तो लाग्छ,” आफ्नो दुःख विर्सने कोशिस गर्दै उहाँले भन्नुभयो । तर दिनरातको कोठाको बसाई । परिवार र गाउँलेसँगको विछोड । गाउँमा शत्रुका सेना परेड खेलेका टेलिभिजन दृष्यजस्ता तीव्र तनावसँगै समय बित्दै जाँदा उहाँ अहिले डिप्रेसनको शिकार हुनुभएको छ । पोलियोभ्निचाले भन्नुभयो, “म मद्दत चाहन्छु तर मलाई मेरो भावनामा पुगेर मद्दत गरिदिने कोही छैन । मेरो रोइरहँदा मलाई पनि डाँको छोडेर रून मन लाग्छ, म पनि रुन चाहन्छु, भुइँमा सुत्न चाहन्छु, र रिसमा मेरो खुट्टा पिट्न चाहन्छु। तर एकोहोरो सोचिरहेकी म त्यसो गर्न सक्दिन । घरीघरी मलाई मेरो मनले सम्झाउँछ । अनि सम्हालिन्छु, औषधी लिन्छु र सबै बिर्सने कोशिस गर्छु ।”
– ‘दुई विन्डो’ –
वार्सास्थित युक्रेनी महिला क्लबकी संयोजक मेरिना माजुराकले शरणार्थीमा मनोवैज्ञानिक सहयोगको माग सधैँ हुने गरेको बताउनुभयो । “प्रायः सबै महिला एकै पटक दुई ठाउँमा बस्छन्। वास्तवमा उनीहरू जहाँ हुन्छन् कल्पनामा त्यो भन्दा धेरै टाढा । आफ्नै गाउँ र परिवेशमा ।” “यो कम्प्युटर स्क्रिनमा दुई ‘विन्डो’ खोल्नु जस्तै होः यहाँ युक्रेन छ, यहाँ पोल्याण्ड छ, र यो सबै जडान गर्न धेरै गाह्रो छ,” उहाँले भन्नुभयो । उहाँको क्लबले लगभग हरेक दिन कार्यक्रम गर्दछ र निःशुल्क स्थानहरू घोषणा गरिएको केही मिनेटभित्र कार्यक्रमस्थल भरिन्छ । किनकि, त्यहाँ यस्ता कार्यक्रमको खोजीमा हजारौ व्यक्ति रहेका छन् । माजुराकले भन्नुभयो, “सबै भावनात्मक र मनोवैज्ञानिक आत्म–नियमनमा मद्दत गर्ने उद्देश्य राख्ने ‘आर्ट थेरापी’, शिल्प विकास तालिम, शारीरिक अभ्यासहरूले उनीहरूलाई साहस दिन्छ।
बाँच्न कला सिकाउँछ र दुःखलाई बिर्सने प्राकृतिक शक्ति पनि दिन्छ।” किएभको सेनाका लागि छद्म जाल बुन्न हरेक हप्ता भेला हुने महिलाहरूको एउटा समूह विशेष गरी नजिक भएको छ। उनीहरूले गत वर्ष स्वयंसेवकहरूसँगै क्रिसमस मनाएका थिए । शेइकोका लागि, सबै युक्रेनी शरणार्थी महिलाहरूमा केही समानता छः “हामी सबैले शान्ति, काम, परिवार र हानि अनुभव गरेका छौँ ।” उहाँले भन्नुभयो, “ खालि समय र प्रदर्शनीको रमाइलोले कुनै समय आफ्नो जीवनको लागि अर्थ ल्यायो, तर ‘तिनीहरूको महत्त्व सकियो।” उहाँले थप्नुभयो, “अब, खाना खानु, परिवारसँग सम्पर्कमा रहनु र आफ्नो घरको ओतमा बस्नु मात्र महत्त्वपूर्ण छ।”
रासस/एएफपी