
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरणे सोध्ने वा कारबाही गर्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् । मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।यसअघि ऊर्जा मन्त्रालयले २२ पुस २०८१ मा घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको थियो । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन् ।
आफूलाई लगाइएका आरोप मनोगत भएको, २४ घण्टाभित्र नै स्पष्टीकरण पेस गर्नुपर्ने र कारबाही गर्नुपर्ने जरुरी नदेखिएको लगायत कारणले यो स्पष्टीकरणका आधारमा पदबाट हटाउन नमिल्ने जिकिर पनि उनले गरेका छन् ।भदौभित्रै कार्यसम्पादन मूल्यांकन हुनुपर्नेमा मन्त्रालयले २२ पुसमा स्पष्टीकरण सोधेपछि घिसिङले त्यससम्बन्धी विवरण बुझाएका थिए । तर, आफूले म्याद गुजारेर बुझाएको विवरणका आधारमा मूल्यांकन नगरी स्पष्टीकरण माग गर्न नमिल्ने उनको तर्क छ । यसअघि जुन रूपमा विद्युतको भाउ बढ्ने गरेको थियो, त्योभन्दा सस्तो मूल्यमा आफूले सहमति गरेको उनको दाबी छ । ‘विगतका वर्षहरूमा औसत रूपमा ५.५ प्रतिशत मूल्यवृद्धि हुने गरेकोमा यस वर्षको बैठक सन् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्मका लागि तय गरिएको दरमा १.५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको छ,’ उनले दाबी गरेका छन् । ऊर्जामन्त्री दीपक खड्का र सचिव सुरेश आचार्य सोही समयमा भारत भ्रमणमा रहेको बेला दुवै जनासँग छलफल गरी नयाँ दर तय गर्ने विषयमा म्यान्डेट लिइएको दाबी उनले गरेका छन् ।
तर, मन्त्रालयका अधिकारीहरू भने यस विषयमा घिसिङले कुनै समन्वय नगरेको बताउँछन् । यो दर नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट अनुमोदन र विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि मात्र लागु हुने उनले उल्लेख गरेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण कसको स्वीकृतिमा गरिएको भन्ने प्रश्न पनि उनलाई सोधिएको थियो । उनले सञ्चालक समिति तथा मन्त्रीबाट स्वीकृत नगराई भ्रमणमा जाने गरेको कुरा अप्रत्यक्ष रुपमा स्वीकार गरेका छन् । ‘२०८१ साउनदेखि १३ फागुन २०८१ सम्म करिब १४ पटक स्वदेश तथा २ पटक भारत भ्रमणमा गएकोमा सो मध्ये माननीय मन्त्रीज्यूसँग सँगै चारपटक काजमा गएको र सोबाहेक अन्य दिन एक्लै पनि गएको अवस्था छ,’ उनले भनेका छन् । भदौ र असोजमा मन्त्रीबाट भ्रमण आदेश स्वीकृत भएको तर त्यसपछि भने नभएको उनको भनाइ छ । भ्रमण आदेश स्वीकृत नभई किन भ्रमणमा गएको भन्ने विषय केही उल्लेख नगरी उनले आफूलाई स्पष्टीकरण सोध्ने मनसायका साथ त्यो स्वीकृत नभएको दाबी गरेका छन् ।
रासस