२०८२ फाल्गुन २८ , बिहिवार

बराबरी भन्सार लगाउने ट्रम्पको घोषणाले भारतलाई पिरलो

modi_trump

सुनाखरी न्युज/ काठमाडौं ।

व्यापारिक साझेदारहरूले अमेरिकी वस्तुलाई जति भन्सार लगाएका छन्, आफूले पनि त्यति नै लगाउने (पारस्परिक भन्सार– रेसिप्रोकल ट्यारिफ)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेपछि त्यसबाट भारत चिन्तित बनेको छ ।

अमेरिका भारतको दोस्रो ठूलो व्यापारिक साझेदार हो । अमेरिकामा भारतले सहुलियतपूर्ण बजार पहुँच पाइरहेकाले ऊसँगको व्यापारमा भारतले नाफा आर्जन गरिरहेको छ ।

 

सन् २०२४ मा भारतले अमेरिकामा ७७ अर्ब ५२ करोडको सामान निर्यात गरेको थियो भने ४० अर्ब ७७ करोड डलरको सामान आयात गरेको थियो । सो वर्ष अमेरिकासँग भारतको व्यापार ३६ करोड ७४ लाखले नाफामा थियो ।

यो वर्ष थोरै अंकले मात्रै चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्न पुग्यो । नत्र सन् २०२१ देखि अमेरिका नै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो ।

 

ट्रम्पले पारस्परिक भन्सारलगाउने घोषणा गरेको सन्दर्भमा ऊसँगको व्यापारिक सम्बन्ध बिग्रन नदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गरी ट्रम्पसँग वार्ता गरेका थिए ।

त्यसक्रममा अमेरिकासँग भारतले एफ–थर्टीफाइभ जेटलगायत सैन्य सामग्री लगायत खरिद गर्ने घोषणा मोदीले गरेका थिए । अमेरिकाले भारतलाई पारस्परिक भन्सार नलगाओस् भन्ने उद्देश्यले मोदीले यस्तो डिल गरेका थिए ।

 

भारतले अमेरिकासँग छुट्टै व्यापार वार्ता गरी ऊसँगको व्यापारलाई सौहार्द बनाउन खोजिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।