
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले देशमा मौलाएको भ्रष्टाचार लज्जाबोधको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार, घूस र कमिसनको प्रवृत्ति बढ्दो छ । यसलाई सत्यतथ्यसहित संसद्मा प्रस्तुत गरौँ । कारबाही गर्ने परिस्थितिको निर्माण गरौँ ।” सांसद गैरेले सुशासनयुक्त सामाजिक न्यायसहितको समाज निर्माण गर्ने काममा एकताबद्ध भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले अध्यादेशले विकासका निम्ति बाटो खोलेको उल्लेख गर्दै अस्थिरता र अराजकताको अन्त्य गरी मुुलुकलाई समाजवादतर्फ लैजान एमाले अग्रसर भएको बताउनुभयो । सांसद गैरेले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रणका लागि अझै सशक्त ढङ्गले अघि बढ्नुपर्छ ।”
रासस