२०८२ चैत्र २ , सोमवार

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको छ । भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो । नेपाल र अजरबैजान नाम र जि७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरु साझा रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका मन्त्री डा देउवाले बताउनुभएको थियो ।

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरुमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताउनुभयो । साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य प्रमुख विषय बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गर्नुभयो ।
रासस