२०८२ फाल्गुन २७ , बुधवार

बेनीमा पशु अस्पताल निर्माण सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेश सरकारले बेनीमा पशु अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । रु ४७ लाखको लागतमा चालु आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एकतले आठकोठे भवन निर्माणको काम थालिएको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताउनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ७१ लाख बजेट विनियोजन गरेको भवन निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा कम कबोलेको बेनीको एसएस बिल्डर्स प्रालिसँग गत हप्ता सम्झौता भएको थियो । “हाल प्रशासनिक भवन परिसरको खुल्ला आकाशमुनि पशुपक्षीको उपचार गर्नुपर्दा समस्या भएको छ”, केन्द्रका प्रमुख रेग्मीले भन्नुभयो, “प्रयोगशाला, एक्सरे, शल्यक्रिया, ओपिडी सहितको भौतिक संरचना बनेपछि पशुपक्षीको प्रभावकारी उपचार गर्न सहज हुने विश्वास लिएका छौँ ।”

भवनको आज प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठले शिलान्यास गर्नुभयो । प्रदेश सरकारले गण्डकीका पशुलाई महामारीजन्य रोगबाट बचाउन पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको, कास्कीमा पशु अस्पताल निर्माण भइसकेको र तनहुँमा निर्माणाधीन रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । यसपालि बेनीमा निर्माण हुने पशु अस्पतालमा आगामी आर्थिक वर्षको बजेटबाट उपकरण खरिद गर्ने र सेवा सुरु गरिने उहाँले बताउनुभयो । यसैगरी मन्त्री श्रेष्ठले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले म्याग्दीमा चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनुभयो । मन्त्रीको टोलीले बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेका पशुपक्षी फार्मको अवलोकन गरेको थियो ।

रासस