
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् । समितिले आइतबारदेखि नै काम थाल्ने छ । बेलुन विस्फोट घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ । शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्ष उदघाटन गर्ने क्रममा हाइड्रोजन भरिएका बेलुनका झुप्पा आगोको झिल्कामा परी विष्फोट भएको थियो । त्यसमा परी अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्य घाइते भएका थिए । उनीहरु दुवैलाई शनिबार नै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।