
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । स्थगित हुनु अगाडि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा बोलेका थिए । रहेकी उपसभामुख इन्दिरा रानाले आकस्मिक र शून्य समय दुवै सकिएको बताइन् । तर, आफूले समय मागेको खतिवडाले दोहोर्याए । त्यसबेला सभामुखको आसनको दायाँ बायाँ रहेका संसद् सचिवालयका अधिकारीहरूले नाम टिपाएको तर, नाम बोलाउन बिर्सिएको स्मरण गराए ।त्यसपछि उपसभामुख रानाले दुई मिनेट समय दिइन् । त्यसपछि खतिवडा बोल्न थाले । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिए । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौं– एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौं ।’ खतिवडाले अगाडि भने, ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं । अदालतमा मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भएको उल्लेख गर्दै उनले यो कसले गरेको हो भनेर जवाफ खोजिनुपर्ने बताए ।
सदनमा एउटा कुरा, बाहिर अर्को कुरा गर्ने, सरकारमा हुँदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए ।खतिवडा बोलिरहँदा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न उठाए । खतिवडालाई कुन समयमा बोल्न दिइएको भनेर सोध । उपसभामुख रानाले आकस्मिक समयमा बोल्न दिन नाम छुटेकाले पछि समय दिइएको बताए । तर, यो विधि अनुसार नभएको भनेर रास्वपाका सांसदहरू उठे । त्यसपछि रास्वपालाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदहरूले साथ दिए । तर, विपक्षी दलहरूले बोल्न समय मागे । त्यसपछि सभामुख घिमिरे पनि झोक्किए, ‘यहाँहरूलाई समय दिँदा प्रश्न उठ्छ कि उठ्दैन ? यहाँहरूले ख्याल गर्नुस् ।’ विपक्षी दलका सांसदहरूलाई सभामुख घिमिरेले प्रश्न गरे, ‘यहाँहरूलाई समय दिँदा प्रश्न नउठ्ने, अरूलाई समय दिँदा प्रश्न उठ्ने यस्तो हुन सक्दैन ।’ यत्ति भनेर सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिदिए ।