२०८२ फाल्गुन २९ , शुक्रवार

सहकारी ठगी प्रकरणमा बयान दिन चितवन पुगे रवि

rabi

सुनाखरी न्युज/ चितवन ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि मंगलबार  चितवन पुगेका हुन् । रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् ।

त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । ‘उहाँ भेटघाटमा व्यस्त हुनुहुन्छ । अदालतमा उपस्थित हुने कि नहुने भनेर केहीबेरमा निर्क्यौल हुन्छ,’ भुसालले भने ।

जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पनि रवि अदालतमा उपस्थित हुनेबारे औपचारिक पत्र प्राप्त नभइसकेको बताए ।

 

चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो भने बेलुका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा भएको थियो ।

रविको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।