
सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।
अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५र२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।
त्यसपछि सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेका हुन् ।
ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।