२०८२ फाल्गुन २९ , शुक्रवार

राससको अध्ययन अवलोकन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीहरुले आज राष्ट्रिय समाचार समिति (रासस) को अध्ययन अवलोकन गरेका छन् । स्नातक तह पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयको अवलोकन गरेका हुन् । उनीहरुले राससको इतिहास, व्यवस्थापन, कार्यशैली र समाचार सङ्कलन, सम्पादन तथा वितरण प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विद्यार्थीलाई राससको ऐतिहासिक पृष्ठभूमि, यसको समाचार उत्पादन प्रक्रिया तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको सहकार्यबारे जानकारी गराउनुभयो । उहाँले राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको समाचार सामग्री सत्यतथ्य, निष्पक्ष, विश्वसनियसँगै सबै सञ्चारमाध्यमलाई समान तरिकाले वितरण गर्दै आएको बताउनुभयो । राससमार्फत उपलब्ध हुने सामग्रीका लागि एपी, एएफपी, सिन्ह्वालगायत विश्वका चर्चित सञ्चार एजेन्सीसँग सहकार्य गरिरहेको बताउनुभयो ।

राससले पछिल्लो समय मल्टिमिडिया सेवा र विभिन्न तीनवटा भाषामा मातृभाषाको समाचार सेवा सञ्चालन गरेकाले सबै खालका सञ्चारमाध्यम रासससँग आबद्ध भएर सेवा लिइरहेको उल्लेख गर्नुभयो । साथै कार्यकारी अध्यक्ष झाले राससले स्थापना गरेको मिडिया सङ्ग्रहालय यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने जो कोहीका सागि सहयोगीसिद्ध हुने बताउनुभयो । राससले ६ सयभन्दा बढी सञ्चारमाध्यमलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ । सो अवसरमा सेन्ट जेभियर्स कलेजका अध्यापक चुनबहादुर गुरुङले पछिल्लो समय समाचार प्रस्तुतीका शैली र उपभोक्ताले खोज्ने सूचनाको तौरतरिकामा ठूलो बदलाव आएको उल्लेख गर्दै राससले आफ्ना ग्राहकलाई लक्षित गरी विविधतायुक्त सामग्री उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । डिजिटल माध्यमको प्रयोग बढ्दै गए पनि आम नागरिकमा सञ्चारमाध्यमको साक्षारता (मिडिया लिट्रेसी) न्यून रहँदा सही र गलत सूचना छुट्याउन नसकिरहेको उहाँको भनाइ थियो । अध्यापक करुणा देवकोटाले राससले नागरिकका आकाङ्क्षा र मानवीय चासोका समाचार सामग्री सम्प्रेषणमा बढी जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले राससले आफ्ना उत्पादित समाचार सामग्रीमाथि विभिन्न क्षेत्र, सरोकारवाला तथा ग्राहकसँग प्रतिक्रिया लिनुपर्ने सुझाव दिनुभयो ।
रासस