२०८२ फाल्गुन २५ , सोमवार

परम्परागत बाली प्रवर्द्धन गर्न खाना महोत्सव

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

परम्परागत बालीको प्रवर्द्धन र संरक्षण गर्न बडीमालिका नगरपालिका–८ मा रहेका मालिका नमूना माध्यमिक विद्यालयले परम्परागत खाना महोत्सव आयोजना गरेको छ । नगरपालिका कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले स्थानीयस्तरमा लगाइने परम्परागत बालीको संरक्षण र प्रवर्द्धन गर्दै बालीको महत्व झल्काउने गरी परम्परागत खाना महोत्सव सञ्चालन गरिएको विद्यालयले जनाएको छ । खाना महोत्सवमा विद्यार्थीले स्थानीयस्तरमा उत्पादन भएका पराम्परागत बाली कोदो, मकै, जौँ, कागुनो, भटमास, केराउ, फापरलगायत बालीबाट विभिन्न रैथाने खानाका परिकार उत्पादन गरेका छन् ।

विद्यालयको खेलमैदानमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीले आठ प्रदर्शनी कक्ष निर्माण गरेर स्थानीय परम्परागत बालीका १४ स्थानीय खानाका परिकार उत्पादन गरेर महोत्सव सञ्चालन गरेका हुन् । महोत्सवले स्थानीय परम्परागत खानाको बजारीकरण र खानाको राष्ट्रियस्तरसम्म प्रचारप्रसार तथा प्रवर्द्धनका लागि सहयोग पुग्ने बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताउनुभयो । उहाँले स्थानीयस्तरमा खेतीका रूपमा प्रयोग हुँदै आएको फापर, कोदो, कागुनोलगायत बालीको प्रवर्द्धन र उक्त बालीको बजारीकरण गर्नेगरी गरिएको महोत्सवले पालिकालाई थप टेवा पुग्ने छ भन्नुभयो ।

महोत्सवमा विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका खानाका परिकारले आगामी दिनमा स्थानीयस्तरमा उत्पादन हुने बालीको प्रवर्द्धन विकासमा सहयोग हुने नगर उपप्रमुख नन्दाकुमारी थापाले बताउनुभयो । उहाँले विद्यार्थीले पढ्दै, सिक्दै कार्य गरेकामा प्रशंसा गर्नुभयो ।महोत्सवस्थलमा नगरप्रमुख अमरबहादुर खड्का नेतृत्वको टोलीले विद्यार्थीले परम्परागत बालीबाट उत्पादन गरेका जेरी, कोदोको मःम, पकौडा, खिर, दालमोठ, पुरीलगायत विभिन्न खानाका परिकारको अवलोकन गर्नुभएको थियो । बालबालिकाले बनाएका परिकारलाई बजारीकरण र उनीहरूको सीपलाई प्रोत्साहन गर्न नगरपालिकाले सीप विकासका कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाउनुभयो । यहाँका सामुदायिक विद्यालयमा पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भरका कार्यमा अग्रसरता गराउन नगरपालिका लाग्ने उहाँको भनाइ छ । रासस