२०८२ फाल्गुन २९ , शुक्रवार

स्वर्णलक्ष्मी सहकारी ठगीः पूर्वडीआईजी जोशी प्रहरी हिरासतमा

Chhabilal-Joshi-Former-AIG

सुनाखरी न्युज/ काठमाडौं ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा आइतबार  उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेश अनुसार उनलाई आज परिसरकै हिरासतमा राखिएको बताए । भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् ।

 

उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।