
सुनाखरी न्युज/ काठमाडौं ।
सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसंग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा आइतबार सहमति भएको हो ।
सहमति अनुसार सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी गर्ने तय भएको छ ।
यस्तै सहमति अनुसार औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संग संगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमती कायम भएको व्यहोरा नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी गराउनु भयो ।