२०८३ बैशाख १३ , आइतवार

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्नुहुँदै उहाँले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गर्नुभयो ।“जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उहाँले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताउनुभयो ।कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्को लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उहाँको भनाइ थियो ।कार्यक्रममा प्रदेश सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि विद्यार्थीलाई व्यवसाय, रोजगारी र सीपसँग जाडिनुपर्ने बताउनुभयो ।

क्याम्पस पढ्ने विद्यार्थी सङ्ख्या बढ्दो रहेको अवस्थामा जति छन् ती विद्यार्थीलाई पढ्दै काम गर्दै अभियानमा सहभागी गराएर अबको उच्च शिक्षा अनुसन्धानमूलक कार्यमा लैजानुपर्ने बताउनुभयो ।क्याम्पस प्रमुख डा यमबहादुर सिलवालले विजनेश इन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्याबका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले आवश्यकताका आधारमा अध्ययनसँगै रोजगारी र सीपलाई प्राथमिकतामा राख्दै सेन्टर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।  रासस